Wednesday, July 15, 2015

सँधै तनाव हुन्छ ? त्यसो भए यसो गर्नुहोस्

आर्ट भनेको चित्रकारिता र थेरापी भनेको उपचार हो । कुनै पनि कुरालाई सकारात्मकतातिर लैजानेलाई थेरापी भनिन्छ । आर्ट थेरापी चित्रलाई आधार बनाएर सकारात्मकतातिर लैजाने प्रक्रिया हो । आर्ट थेरापी कुनैपनि व्यक्तिलाई प्रश्न गरेर अर्थात् काउन्सिलिङ गरेर समस्या सोध्ने होइन ।
यसमा कुनै पनि व्यक्तिलाई निश्चित प्रकारका चित्र बनाउन लगाइन्छ । चित्र बनाएर त्यसकोमात्र कुरा गरेर
सकारात्मक धारणा ल्याउने प्रक्रिया आर्ट थेरापी हो । जसरी मानिसले प्रश्न सोध्दा त्यसको जवाफ दिन्छ, चित्र बनाउँदा आफूभित्रका समस्या के छ आफै भन्न थाल्ने हुन्छ । अवचेतन मनका कुरा चित्रमार्फत् निस्कन्छन् ।
कुनै पनि समस्या अर्कालाई बाँड्नु भयो भने तपाईलाई आनन्द आउछ । आर्ट थेरापी भनेको काउन्सिलिङ जस्तै हो । तपाईसँग इमेजको कुरा गर्दागर्दै ‘हिल’ हुन्छ अर्थात् उपचार हुन्छ ।

पेन्ट गर्न, आर्ट गर्न सबैलाई मनपर्छ । आनन्दले पेन्ट गर्दा केही भावना आउछ । आर्ट गर्नु भनेको सकारात्मकता ल्याउनु हो । आर्टको माध्यमबाट आफूभित्रका समस्या निकाल्न सक्नुभयो भने ‘हिलिङ’ सुरु हुन्छ ।
यो आर्ट साइकोलोजीमा पर्छ । आर्ट गर्नुभयो, एक्सप्रेसन गर्नुभयो, त्यसका बारेमा कुरा गर्नुभयो, त्यो नै आर्ट साइकोलोजी हो । आर्ट थेरापी तब सुरु हन्छ जब तपाईले आफैंले भन्नुहुन्छ, यस्तो समस्या रहेछ भनेर । मानिसभित्र रहेका तनावलाई आर्टका माध्यमबाट उपचार गरिन्छ भने त्यो नै आर्ट थेरापी हो ।

आर्ट साइकोलोजी र आर्ट थेरापीमा फरक छ । आर्ट साइकोलोजीमा चित्रमार्फत् स्वतन्त्र रुपमा अभिव्यक्त गरिन्छ । यसपछि मात्र समस्याका बारेमा थाहा हुन्छ, त्यसको उपचार गर्ने प्रक्रिया आर्ट थेरापी हो । कसैलाई एक–दुईपटकमै उपचार हुन्छ भने कसैलाई धेरैपटक गर्नुपर्ने हुन्छ । आर्ट थेरापीअन्तर्गत मानिसले आफ्ना समस्या भनिसकेपछि विभिन्न प्रकारका चित्र बनाउन लगाइन्छ । हरेक सेसनमा भिन्न–भिन्न चित्र बनाएर त्यसका बारेमा कुरा गरेर बिस्तारै त्यसलाई ठिक पार्न सकिन्छ ।

एक परिवारमा निकै नै समस्या रहेछ । उसको परिवारभित्र सब गन्जागोल थियो । हामीले परिवारका चार सदस्यलाई सँगै बसाएर वातावरणका बारेमा चित्र बनाउन लगायौं । सबैले आ–आफ्नै तरिकाले बनाए । कसैले पानी परिरहेको, कसैले घाम लागिरहेको आदि ।
यसपछि सबैलाई आफ्नो चित्रका बारेमा व्याख्या गर्न लगायौं । सबैको चित्र सकारात्मक थियो । तर घाम लागिरहेको बनाएपनि त्यसको व्याख्या नकारात्मक गर्छ (जस्तो कि घाम मलाई मन पर्दैन, घामले पोल्छ, सुख्खा हुन्छ, धुलो उँड्छ आदि) । उसले आफूलाई बाहिरबाट सकारात्मक देखाएपनि भित्रैबाट भने दिक्दारी व्यक्त गरेको हुन्छ । त्यसबाट नै उसको अभिव्यक्ति नकारात्मक भनेर थाहा हुन्छ । त्यसपछि यसमा कुनै समस्या छ भन्ने थाहा भयो । त्यसपछि उसँग एक्लै सेसन गर्दा परिवारभित्रको सबै कुरा पत्ता लाग्यो ।

परिवारभित्र उसको कुरा मिल्दो रहेनछ । श्रीमतीसँग कुरा नमिल्ने, सँगै नबस्ने कुरा थाहा भयो । त्यसपछि उसलाई श्रीमतीसँगै थेरापी गरायौं । जब हामीसँग सेसन गर्दै गए अनि मात्र उनीहरुले एक अर्काको सोचाई बुझ्न सुरु गरे । समस्या भनेको ‘मिस कम्युनिकेसन’ थियो । उक्त व्यक्ति सकारात्मक भएर निस्कियो ।

मनोरोग चिकित्सकमा जानु भयो भने औषधि दिन्छन् । तर आर्टमा औषधि चाहिँदैन । औषधिले साइड इफेक्ट पनि गर्न सक्छ तर आर्ट थेरापीले भित्र जे छ निकाल्ने हो । यसमा साइड इफेक्ट भनेको मनका कुरा निकाल्दा भावुक हुने, रुन मन लाग्ने हुन्छ । यसले नै मन हल्का हुन्छ । जसले औषधि लिनुभएको छ उहाँहरु औषधि सँगसँगै आर्ट थेरापी गर्नुभयो भने छिटो निको हुन्छ । यसका लागि मनोरोग चिकित्सकले पनि रिफर गर्नु पर्छ ।
हाल बच्चाहरुमा ग्रुप सेसन गरिरहेका छौं । त्यो आर्ट साइकोलोलोजी हो । बच्चाहरुसँग धेरै कुराकानी हुँदैन तर चित्रमा देखिएको समस्या नै हामी परिवारसँग छलफल गछौं । त्यसपछि एक्लाएक्लै सेयर गर्नेगछौं । जसबाट बच्चालाई स्वतन्त्र अभिव्यक्त गर्ने कला सिकाउँछौं । चित्र बनाउन हामी बायोमेडिककै भित्ता उपलब्ध गराउछौं । त्यसका लागि आवश्यक पर्ने सामग्री दिइन्छ । आर्ट थेरापी गराउने भनेको आत्मविश्वास बढाउने, सकारात्मक भावना ल्याउने हो ।
विद्यालयहरूमा पनि आर्ट थेरापी गराउने तयारी हामी गरिरहेका छौं । यस्तै, सामूहिक रुपमा काम गर्नुपर्ने कार्यालयहरूमा कर्मचारीबीच कुरा नमिल्ने, काममा अवरोध आउनेजस्ता समस्या देखिन्छन् । यस्तो अवस्थामा हामीले टिम बिल्डिङको सेसन दिने गरेका छौं । टिम बिल्डिङ सेसनले कर्मचारीबीच सकारात्मक धारणा सिर्जना गराउछ ।
dainiknepal.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment