Tuesday, February 23, 2016

टीकापुर हत्याकाण्डमा प्रहरीको हतियार लुट्ने पक्राउ, ६ महिनापछि भेटियो यो हतियार

धनगढी, ११ फागुन । गत ७ भदौमा टीकापुरमा भएको घटनामा नेपाल प्रहरीबाट लुटिएको एकथान मल्टीग्यासगनसहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह (आरआइटी) को संयुक्तरुपमा खटिएको टोलीले सोमबार कैलालीको बसौटी गाविस ३ क्रमदेब सामुदायिक वनमा सो ग्यासगन लिएर हिडिरहेको अवस्थामा हसुलिया गाविस ८ मनाउका ३९ वर्षीय निदंग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले धनगढीमा बरामद गरिएको ग्यासगन र पक्राउ परेको चौधरीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बरामद गरिएको ग्यासगन टीकापुर घटनामा लुटिएको प्रहरीको भनाई छ । टीकापुरमा थरुहट/थारुवान संघर्ष समितिले आयोजना गरेको बिरोध कार्यक्रममा आन्दोलनकारीहरुले प्रहरीलाई आक्रमण गर्दा एकजना एसएसपीसहित आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
घटनामा आन्दोलनकारीले प्रहरीको साथबाट एकथान एसएलआर, एकथान पेस्तोल, एकथान मल्टीग्यासगन र एकथान सञ्चारसेट पनि लुटेर लगेका थिए । आन्दोलनकारीले लुटेर लगेका हतियारको विशेष खोजी गर्दै आएको प्रहरीले विशेष सुराकीको आधारमा सात महिनापछि ग्यासगन बरामद गर्नसकेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी बिजयकुमार भट्टले बताए ।
‘पक्राउ परेको चौधरीले सो ग्यासगन एकजनासँग ५० हजार रुपैयाँमा मोलमोलाई गरी बिक्री गर्न हिडेको थियो’, डीआइजी भट्टले भने, ‘प्रहरीले शंका लागि उसको पिछा गरी चेकजाँच गर्दा हतियारसहित पक्राउ गर्न सफल भइयो ।’ बरामद गरिएको ग्यासगन ६ राउण्ड क्षमताको रहेको र त्यस्तो ग्यासगन नेपालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मात्र रहेको डीआइजी भट्टको भनाई छ ।
ग्यासगनको बाहिरी भागमा रहेको स्टीकर कोतेर फालिएको छ । अब प्रहरीको प्रयोगशालामा चेक गरेपछि ग्यासगनको मोडेल र अन्य कुरा थाहा हुने कैलाली प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए ।
लुटिएको अन्य हतियारको नजिकनजिक प्रहरी पुगिसकेको छ । तर, लुटेराहरुले एसएलआर, पेस्तोल भाचेर फालिसकेको भन्ने सुचना प्राप्त भएकोले संलग्नलाई समात्न समस्या भएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
ग्यासगनसहित पक्राउ परेका चौधरी हतियार बिक्री गर्ने गिरोहको रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । उनको टीकापुर घटनामा संलग्नता थियो की थिएन् । बिगतमा उनको पृष्ठभूमि कस्तो थियो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका चौधरीले आफू नेपाली काँग्रेससँग आबद्ध रहेको जनाएपनि प्रहरीले मधेशी फोरमको रहेको पत्रकार सम्मेलनमा बताएको थियो । यद्यपि स्थानीयबासीले उनी पूर्वमाओवादीको लडाकु रहेको जनाएका छन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment