![]() |
प्रधानमन्त्रीको केपी ओलीको ६ दिने भारत भ्रमणको औपचारिक/अनौपचारिक राजनीतिक छलफल सोमबार सकिएको छ ।
प्रधानमन्त्री मंगलबार मुम्बई पुगेर व्यापारीहरूसँग अन्तक्र्रिया गर्दै बुधबार स्वदेश फर्कनेछन् ।
भ्रमण क्रममा ओलीले द्विपक्षीय समग्र विषयमा छलफल गरे पनि सम्बन्ध सुधारका सकारात्मक संकेत खासै स्पष्ट हुन सकेन । दिल्ली प्रस्थान गर्नुअघि ओलीले भनेजस्तै भ्रमण एजेन्डाविहीन नै भएको छ ।
कूटनीतिक पहलमा नाका खुलेको जस लिएको ओली सरकार भारतसँग चिसिएको सम्बन्ध सुधारमा केन्द्रित देखिए पनि त्यसको चुरोमा पुग्न नसकेको कूटनीतिक अनुभव भएका विज्ञहरूले बताए ।
‘ओलीले नेपालको आन्तरिक कुरा सुनाए, तर भारतको ध्यान केन्द्रित गर्न सकेनन्,’ उनीहरूको टिप्पणी छ । प्रधानमन्त्री आफैंले भ्रमण असमझदारी अन्त्य गर्न सफल भएकोमा आफू सन्तुष्ट रहेको बताएकोप्रति पनि विज्ञहरू कटाक्ष गर्छन्, ‘कूटनीतिमा कति कुरा गरिन्छ र भनिँदैन ।
जुन कुरा भनिन्छ त्यो भएको हुँदैन । पारदर्शी हुनुपर्नेमा हुने र नपर्नेमा नहुनेतर्फ प्रधानमन्त्रीको ध्यान पुगेन ।’
ओलीलाई भारतको राष्ट्रपति भवनमा राखियो । स्वागतमा विदेशमन्त्री सुष्मा स्वराज गइन् । यो सांकेतिक सम्मान हो जसले नेपाललाई महत्त्व दिएको झल्किन्छ ।
तर, ओली आफैंले २०४७ पछिको ठूलो सम्मान पाएँ भनेर रम्नु र आफैंले आफ्नो भ्रमणलाई राजकीय भनेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांकेतिक उत्तर दिएका छन् । मोदीको बडी ल्याङवेजले ओलीलाई विशेष सम्मान दिएको अनुभूति गराएको थिएन ।
उनले आफ्ना समकक्षीलाई अंकमाल गर्ने गर्थे, जुन ओलीसँगको भेटमा देखिएन । ओलीले आफैं राजकीय भ्रमण भनिरहँदा मोदीले हाफ बाहुले कुर्ता लगाएको पनि त्यति स्वभाविक थिएन । प्रधानमन्त्री भेट्न आएका मन्त्रीले बाहुला दोबारेर कुरा गर्न बसेका तस्बिर सार्वजनिक छन् । यस्तो पोसाक राजकीय भ्रमणमा स्वाभाविक नमानिने विज्ञहरू बताउँछन् । यद्यपि मोदीको अंकमालको विषय पश्चिमा सञ्चारमाध्यममा छाएपछि उनले छाडेको हुन सक्छ ।
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले यो भ्रमणले घाइते सम्बन्धका अंगहरू निको पार्ने प्रयास भएको अनुभूति नगराएको बताए ।
‘नेपाल–भारत सम्बन्धमा भएको दुर्घटनाले घाइते भएका सम्बन्धका संवेदनशील अंगलाई निको पार्ने प्रयास भएको अनुभूति भएन,’ पूर्वमन्त्री पाण्डेले भने, ‘भारतसित अहिले भएका सम्झौता पुरानै सहमति, घोषणा र सम्झौता नै दोहोरिएका हुन् । नेपाल–भारत सम्बन्धमा देखापरेको गतिरोधलाई हटाउने समझदारी भएको पाइएन ।’
परराष्ट्रका पूर्वशिष्टाचार महापाल गोपालबहादुर थापाले पनि भ्रमणमा जुन अपेक्षा थियो, त्यो नदेखिएको बताए । ‘भारतको पानी र सुरक्षाको चासो यथावत् छ,’ उनले भने, ‘यसमा नेपाल अझै स्पष्ट हुन सकेको छैन ।
सरकार आवश्यक विषयमा मात्रै केन्द्रित हुन सकिरहेको छैन ।’ प्रधानमन्त्रीलाई गरिएको सम्मान महत्त्वपूर्ण देखिए पनि त्यसमा समेत भारतले आफ्नो दूरी राखेको र फुक्र्याउने शैली रहेको उनले बताए । भारतको अडानमा परिवर्तन नभएको तर फरक एप्रोचमा जान खोजेको कतै नलुकेको उनले स्पष्ट पारे ।
पूर्वराजदूत दिनेश भट्टराईले पनि भारतको पुरानो अडानमा परिवर्तन आएको जस्तो नदेखिएको बताए । उनले सम्मानलाई सांकेतिक रूपमा बुझ्नुपर्ने तर शब्द र सन्दर्भको महत्त्व अर्कै हुने बताए ।
‘प्रधानमन्त्रीले असमझदारी हटाउन केही हदसम्म प्रयास गरेको देखिन्छ तर भारतीयले उनको नेपालभित्रको विश्वासप्रति नै शंका गरेको देखिनुले पनि सफल भ्रमण भनिहाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘भारतको हकमा पनि दुई (प्रधानमन्त्री र राष्ट्रपति) धार सञ्चारमाध्यममा आएको देखिएको छ । तर, वास्तविकता बुझेर विश्लेषण गर्न बाँकी छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
nepaliheadlines
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment