Monday, February 22, 2016

काठमाडाैंमा ‘हङकङ फ्लु’ देखियो

फाल्गुन १०, २०७२- मौसमी रुघाखोकीअन्तर्गत पर्ने ‘हङकङ फ्लु’ मुलुकका विभिन्न ठाउँमा देखिएको छ । इन्फ्लुएन्जा–ए भाइरस ‘एच३ एन२’ लाई हङकङ फ्लुको नामले चिनिन्छ । तर, यसबाट आत्तिनु नपर्ने चिकित्सकहरूले बताएका छन् । यो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ ।

यो रुघाखोकी सन् १९६८ मा हङकङमा महामारीकै रूपमा देखिएर सन् १९७० सम्म चलेको थियो । हङकङ फ्लुले १० देखि ४० लाख व्यक्तिको मृत्यु भएको अनुमान छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यले गत वर्ष स्वाइन फ्लु बढी देखिएकोमा यसपटक एच३ एन२ (हङकङ फ्लु) बढी देखिएको बताइन् । उनका अनुसार रुघाखोकीका तीनवटै प्रकार स्वाइन फ्लु, हङकङ फ्लु र इन्फ्लुएन्जा बीलाई मौसमी रुघाखोकी भन्ने गरिन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले यो रुघाखोकी उत्पन्न गर्ने भाइरसको आक्रमण क्षमता धेरै कम भएर स्वाइन फ्लु (एच१एन१) को हाराहारीमा पुगेको उल्लेख गर्दै भने, ‘हङकङ फ्लु विगतका वर्षमा समेत देखिने गरे पनि यसपटक अन्यको दाँजोमा बढी देखिएको छ ।’

‘हङकङ फ्लुलाई हामीले यसपटक त्यति वास्ता गरेनौं, तर यसले स्वस्थ व्यक्ति सँगै युवालाई समेत समस्यामा पारेको देखियो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘यसले बूढापाका, बालबालिका, दीर्घरोगीलगायत शारीरिक समस्या भएकामा कडा रूपले देखिन्छ भने पूर्ण स्वस्थ युवालाई समेत समस्या पारेको तथ्यांकसमेत छ ।’

केही वर्षयता दक्षिण एसिया क्षेत्रमा स्वाइन फ्लुको प्रकोप देखिन थालेपछि हङकङ फ्लु ओझेलमा परेकोले यतातर्फ खासै ध्यान नदिइएको डा. पुनले बताए । उनी भन्छन्, ‘मुलुकमा यस पटक देखिएको हङकङ फ्लुबारे विस्तृत अध्ययन आवश्यक छ ।

केही वर्षयतादेखि हङकङ फ्लुको संक्रमण भएकाहरूको संख्यामा वृद्घि भएकाले यसपटक यो समस्या अलि बढी देखिएको उल्लेख गर्दै डा. मरासिनीले भने, ‘यो त्यस्तो खतरनाक होइन र यसको मुलुकमा ठूलो प्रकोपसमेत देखिएको छैन ।’

गत साता दैलेख, अछाम, दोलखामा देखिएको रुघाखोकीको समस्या हङकङ फ्लुले गर्दा भएको हो । त्यहाँबाट ल्याइएको नमुना जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सबैभन्दा बढी एच३ एन२ देखिएको थियो ।

‘सन् २०१४ मा समेत नेपालमा हङकङ फ्लु देखिएको थियो तर त्यसताका यो कम मात्रामा र सामान्य रुघाखोकी जस्तै थियो,’ स्वास्थ्य मन्त्रालयका एक विशेषज्ञले भने, ‘यस पटक भेन्टिलेटरमा रहेका बिरामीहरूको नमुना परीक्षण गर्दा हङकङ फ्लु देखिएको छ ।’

गत वर्ष अर्थात् सन् २०१५ मा नेपालमा मौसमी रुघाखोकीअन्तर्गत सबैभन्दा बढी स्वाइन फ्लु अर्थात् एच१ एन१ देखिएको थियो । हङकङ फ्लु कुनै नयाँ प्रकारको रुघाखोकी नभएकाले यसविरुद्घ धेरैजसो व्यक्तिको शरीरमा रोग प्रतिरोधक क्षमता आइसकेको औंल्याउँदै डा. मरासिनी भन्छन्, ‘कुनै नयाँ प्रकारको भाइरसबाट उत्पन्न हुने रुघाखोकी देखियो भने यो खतरनाक हुनसक्छ ।’
ekantipur

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment