Monday, February 22, 2016

खाली हात काठमाडौँ छिरेका धादिङका अन्जान थापा यसरी बने अरबपति

धादिङको त्रिपुरेश्वर गैरिगाउँमा गाविसमा वि.सं २०३५ सालमा जन्मिएका अन्जान थापा (कुमार) एउटा सामान्य सैनीक परिवारका जेठा छोरा हुन् । अन्जानबाहेक आमा, बुवा, एक भाई र एउटी दिदि छन् । पढ्नमा सामान्य अन्जान एउटा ख्यातीप्राप्त व्यक्ति बन्न चाहान्थे । सपनाहरुको ठुलै थैलो बोकेर वि.सं २०५० सालमा रित्तो हात काठमाडौ छिरेका अन्जानले क्याम्पस जीवनमा पैसाको अभाव झेल्नुपर्दा जागिरको अभिलाषमा निकै तनावको सामना गरे । तर गाउँका एकजना जानपहिचानका दाईले ट्रेकिङ अफिसमा झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डसंग हिड्ने जागिर लगाईदिए । टुरिस्टको झोला बोकेर जीवन संघर्ष सुरु गरेका अन्जानको झोले जागिरदेखि अरबपतिसम्मको यात्राको विषयमा  पत्रकार नबराज कुँवरले कुराकानी गरेका छ्न । प्रस्तुत छ सोहि कुराकानीमा आधारित यो सामग्री


बुबाको चाहना आर्मी बनाउने

हो, धादिङबाट २०५० सालमा म काठमाडौँ छिर्दा मसंग ‘मेरो भन्नु’ केही थिएन । हुन त मलाई सामान्य आर्थिक सहायताको लागि मेरा बुवा हुनुहुन्थ्यो । मेरो पारिवारिक आर्थिक पृष्ठभुमी सामान्य थियो । ‘धेरै भएका’हरुमा पनि हामी पर्दैन थियौँ र ‘हुँदै नहुने’मा पनि पर्दैनथ्यौँ । बुवाले सामान्य सपोर्ट गर्ने भने पनि म आफैँ केही गर्न चाहान्थेँ । बुबा मलाई आर्मी बनाउन चाहानुहुन्थ्यो । तर ‘म अन्जान थापा’ भनेर अरुको सामु आफ्नो छुट्टै पहिचान बनाउँन चाहान्थेँ । त्यसैले त आर्मीको जागिरप्रति विकर्षित थिएँ । मैले त्यो जागिर खाएँ भने म सँधै मेरै बुबाप्रति आश्रित हुनुपर्दथ्यो । त्यसैले मैले मेरो बुवाको ‘आर्मी जागिर खा’ भन्ने प्रस्ताव अस्वीकार गरेँ । धादीङको स्थानीय विद्यालयमा १० कक्षा उत्तिर्ण गरेपछि म पढ्नको लागि भनेर काठमाडौँ आएको थिएँ ।

पत्रकार बन्ने इच्छा
म आफ्नो परिचय विस्तार गर्न चाहान्थेँ । म पत्रकारीतामा इच्छुक थिएँ । त्यसैले म पत्रकारीता विषय लिएर २०५० सालमा आर आर क्याम्पमा भर्ना भएँ । तर तत्कालीन अवस्थाले मलाई पत्रकारीतापट्टि जान दिएन । म पत्रकारीताको सपनाको तिलाञ्जली दिएर तत्कालीन समस्या टार्नतिर लागेँ । मलाई रुपैयाँबाट आइपर्न सक्ने समस्याहरुदेखि सँधै डर लाग्थ्यो । तर संगसंगै मसित हिम्मत पनि थियो । यो भएन भने त्यो गर्छु भन्ने योजनासहित म काम सुरु गर्थेँ ।

भाडाको एउटा कोठामा ४ जना बस्थ्यौँ
डेरा जीवन त्यसै पनि कठीन नै हुन्छ । त्यतिबेला एउटा कोठामा चार जना बसिन्थ्यो । एउटै कोठामा बस्दा सस्तो पर्ने भएकाले भाई र दिदिहरुसहित चार जना बस्थ्यौँ । संधैभरि घरबाटमात्रै पैसा पठाएर घरमा दुख दिन मन लागेन । म अरुको भरमा जीवन धान्नै चाहान्न थिएँ । त्यसैले पैसाबाट आइलागेका मेरा तत्कालीन समस्याहरु समाधान गर्न मैले केही जागिर खानैपर्दथ्यो । त्यसैले मैले जागिर खोज्न सुरु गरेँ । तर जागिर भेट्न मुस्किल नै थियो ।


टुरिस्ट र गार्डको झोला बोक्ने जागिर पाएँ, तर बुबा जंगिनुभयो
एकजना चिनजानका दाईले ट्राभल एजेन्सीमा टुरिस्ट र गार्डको झोला बोक्ने जागिरमा लगाइदिनुभयो । त्यतिबेला अंगे्रजी पनि राम्रो थिएन त्यसैले गार्डकै रुपमा जिम्मेवारी पाउने संभावना पनि थिएन । आर्मीको कर्णेल मेरा बुवाले म झोला बोकेर टुरिस्ट र टुरिस्ट गार्डको पछि हिँडेको मन पराउनुभएन । उहाँ जंगिनुभयो, ‘तैले अरु काम पाइनस् रु पढ् खुरुखुरु’ । तर मलाई जसरी पनि आफ्नै खुट्टामा उभिनु थियो । १०/१५ हजारको जागिर पनि मलाई त्यतिबेला निकै महत्वपूर्ण थियो । मैले त्यहाँ इमान्दारीताका साथ काम गरिरहेँ । त्यतिबेलासम्म मैले यता आइए पनि सकाएँ ।

काम आफ्नै गर्नुपर्ने रहेछ
झोला बोक्दा बोक्दै भएपनि मेरो विदेशी पर्यटकहरुसंग हिमचीम बढ्यो । मैले आफ्नो अंग्रेजीमा नि इम्प्रुभ ल्याएँ । र पछि म टुरिस्ट गार्डको रुपमा काम गरेँ । त्यतिबेला म ती साहुहरुको आय विचार्थेँ । उनीहरु बसेरै पैसा कमाएको देख्थेँ । जस्तो सुकै दुख होस् मलाई पनि त्यस्तै भएर व्यवसाय गर्न मन थियो । म आफु काम गरेर धेरैलाई काम दिन सक्ने गरि व्यवसाय गर्न चाहान्थेँ । व्यवसायी बन्ने चक्करमा मैले आफ्नो पढाईलाई पनि अगाडी बढाउन सकिन ।

व्यवसाय गर्न पैसा थिएन
मैले व्यवसाय गर्न सोच बनाएपनि मसंग पर्याप्त पैसा थिएन । मैले घरमा पैसा मागे । सुरुमा केही प्रश्न र आशंका बुवाले गरेपनि पछि उहाँ केही रकम दिन तयार हुनुभयो । म त्यति धेरै खर्चालु थिइन । त्यसैले मैले पनि केही जोह गरेर राखेको रुपैयाँ र बुवाले पठाइदिएको रुपैयाँले व्यवसाय सुरु गरेँ । सन् २००० सालबाट मैले औपचारीक रुपमा आफ्नै टे«किङ कम्पनि खोलेँ । सुरुमा निकै चुनौतिहरु थिए ।

जापानमा लुक्ने प्रयास
सन् २००० सालमा मैले कम्पनि खोलेँ । लगत्तै मैले व्यवासयिक उद्धेश्यमा २००१ सालमा जापान घुम्न जाने अवसर पाएँ । म जापानमा साँच्चै राम्रो रहेछ भने उतै भागेर बस्ने विचारमा थिएँ । व्यवसाय ठीकै थियो, तर विदेशमा राम्रो हुन्छ भनेको सुनिन्थ्यो । त्यसैले जापान घुम्न गाको बेला ठीक लाग्यो भने उतै लुकेर बस्ने विचार गरेको थिएँ । तर जब म त्यहाँ पुगेँ मैले मेरै बुबाले भनेको आर्मीको जागिरभन्दा बन्धनपूर्ण देखेँ त्यहाँको अवस्था । म त स्वतन्त्ररुपमा आफ्नो परिचयका लागि आफ्नै समय निर्धारण गरि काम गर्न चाहान्थेँ । त्यसैले जापानमा लुकेर बस्ने चाहाना उतै सेलाएर म नेपाल फर्किएँ । र काम गर्न लागेँ । तपाई पत्याउनुहुन्न होला । म १५ घण्टाभन्दा ज्यादा काम गर्थेँ । आफ्नो व्यवसाय भनेपछि त्यसै पनि जाँगर चल्थ्यो । नेपालको राजनैतिक अवस्था त्यतिबेला सामान्य नै थियो । त्यसैले व्यवसायको अवस्था पनि ठीकै थियो । मैले व्यवसायबाट सन्तुष्टि पाउन थालेँ । म अझै काम गर्न थालेँ । चुनौतिहरु थिए । व्यवसायमा कैले काँही अप्ठेराहरु आउँथे । तर मैले त्यसको डटेर सामना गरेँ । केही वर्षको अन्तरालमा मैले होटल व्यवसायतर्फ पनि लगानी गरेँ । सामान्य ढंगले पर्यटकहरुका लागि होटल खोलेँ । पछि राम्रै हुँदै पाँचतारे होटल बनाएँ । त्यसबीचमा म निकै खटेँ ।



दुई दर्जनबढि देशको भ्रमण
व्यवसायिक रुपमा सफल हुँदै गएपछि मैले व्यवसायिक शिलशिलामा विभिन्न युरोपियन तथा गल्फ मुलुकहरु झण्डै दुई दर्जन देशको भ्रमण गरेको छु ।

तीन सय युवालाई रोजगारी
आज म पाँच वटा कम्पनिहरु ह्याण्डल गरिरहेको छु । जमलमा होटेल उडलेन्ड, ठमेलमा होली लज, आसाही ट्रेक नेपाल, स्वयम्भुमा हिमालयन इन्टरनेशनल योगा एकेडेमी र मन्टेश्वरी स्कुल संचालन गरिरहेको छु । मेरी श्रीमतीले मन्टेश्वरी स्कुल हेर्छिन् । एक छोरा र एक छोरी छन् त्यतापट्टिको जिम्मेवारी पूरा गर्दै पनि उनी काममा क्रियाशील छिन् ।

आज मेरो कम्पनिहरुमा ३ सय जना रोजगार छन् । म त्यो बेला सम्झन्छु, जतिबेला म एउटा टुरिष्टको झोला बोकेर अनि गार्ड भएर काठमाडौमा संघर्ष सुरु गरेँ । हुन त त्योभन्दा ठूला–ठूला संघर्षका कथा र सफलताहरु पनि हाम्रै सामु छन् । तर स्पष्ट कार्ययोजना, दृढता, जोखीम र साहस लिएर काममा लाग्न सक्ने हो भने यहाँ आफ्नो लागि आफैँ गर्न सकिने थुप्रै बाटाहरु रहेछन् भन्ने कुरा थाहा पाउँदैछु । म पुरै सफल भईसकेको म मान्दिन । भर्खर ३७ वर्ष भएँ । अझै धेरै गर्न बाँकी नै छ ।

हिँजोको सामान्य गाउँले केटो, आज गाउँ जाँदा भव्य स्वागत
हिँजो त्यही गाउँको एउटा सामान्य ठिटो आज म त्यहाँ जाँदा गाउँलेहरुले गाउँभरि भव्य स्वागत गर्नुहुन्छ । म गाउँको विकासमा पनि सक्रिय छु । गाउँ विकासका काममा लागि परेका विभिन्न संघसंस्थालाई म सकेजति सहयोग गर्नबाट पनि पछि हट्दिन । मैले मेरा होटल र अफिसहरुमा अधिकांश धादीङकै बेरोजगार युवाहरुलाई रोजगारी दिएको छु । उहाँहरुको बुवाआमाले म गाउँ जाँदा निकै आदरसम्मानले मेरो स्वागत गर्नुहुन्छ ।

समाजसेवामा इच्छा
म विभिन्न गैरनाफामूलक संस्था तथा समाजीक संघसंस्थाहरुमा आबद्ध थिएँ । टानको पदाधिकारी पदमै बसेर मैले केही समय काम गरेँ । नेपालमा गएको बैशाखमा गएको विनाशकारी भूकम्पबाट पिडित जनतालाई मैले आफुले सक्रिय भएर त्रिपाल, लत्ताकपडा र केही खानेकुराहरु वितरण गरेँ । म समाजसेवामा पनि सक्रिय रहन चाहान्छु । पैसामात्रै सबै कुरा हैन, यो आवश्यकता हो । तर मानवीयता सबैभन्दा ठूलो कुरा हो । त्यसको लागि समाजसेवा गर्नुपर्छ जस्तो लाग्छ ।

युवालाई मेरो सुझाव –‘नो रिक्स् नो गेन्’
हाम्रो देशमा अवसर र चुनौति बराबरी छन् । हुन त चुनौतिको सामना गर्न सकिएन भने निश्चय नै सफलता हात पार्न सकिदैन । आज दैनिक विदेश पलायन भईरहेका युवालाई म विदेश जाँदै नजानुस भन्न चाहान्न । किनकी सबैको आ–आफ्नो बाध्यताहरु हुन्छन् । तर विदेश गएर तपाईले सिकेका कुराहरु नेपालमा लागु गर्नुस् । तपाई विदेशमा जे काम पनि गर्न तयार हुनुहुन्छ तर नेपालमा चाहिँ कामलाई सानो र ठूलोमा बर्गिकरण गर्नुहुन्छ भने त्यही हो तपाईको प्रगतिको बाधक । ‘नो रिक्स् नो गेन’ भन्ने अंग्रेजी भनाई नै छ, अलिकति जोखीम जेमा पनि मोल्नैपर्छ ।
(साभार : राष्ट्रिय खबर)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment